करबाटै दर खाएपछि अर्धनग्न जुलुस

दमक — जनताको करबाट जनप्रतिनिधिले तीजको दर खान लागेको भन्दै भद्रपुर नगरपालिकामा अर्धनग्न जुलुस प्रदर्शन गरिएको छ । चौतर्फी आलोचनाबीच नगरपालिकाले तीज विशेष कार्यक्रमको आयोजना गरेपछि स्थानीय युवाले शुक्रबार विरोधमा अर्धनग्न जुलुस प्रदर्शन गरे ।


भद्रपुर ३, पृथ्वीनगरका बिकेन लिम्बू नेतृत्वमा अर्धनग्न विरोध प्रदर्शन गरिएको थियो। प्रदर्शनमा चेतनशील युवा समूहका युवा सहभागी थिए।

funny mobile clips



  उनीहरू भद्रपुर बसपार्कबाट अर्धनग्न जुलुससहित बजार परिक्रमा गर्दै नगरपालिका कार्यालयतर्फ गएका थिए तर सुरक्षाकर्मीले उनीहरूलाई नगरपालिका कार्यालय पुग्न दिएन।
प्रदर्शनमा युवाले नगरपालिका र प्रहरीविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले शान्तिपूर्ण प्रदर्शन गर्न पाउनुपर्ने अधिकार सुरक्षाकर्मीले हनन गर्न नमिल्ने जिकिर गरेका थिए। उनीहरूले जनताबाट उठाएको करबाट तीजको दर खान नमिल्ने, धर्म, संस्कारका नाममा राजनीति गर्न खोजेको आरोप लगाए।

नगरपालिकाजस्तो जिम्मेवार निकायले कुनै एउटा धर्म विशेषलाई मात्र प्राथमिकतामा राख्न नमिल्ने लिम्बूको भनाइ छ। ‘सबै धर्म, संस्कार र संस्कृति समान छन्। तीज मनाउने तर अन्य धर्मको संस्कृति नमनाउने संस्कार बसाल्नु हुँदैन,’ उनले भने, ‘त्यसैले सबै धर्म एक हो, सबै धर्मलाई सम्मान गर्न सक्नुपर्छ।’

डीएसपी जितेन्द्रकुमार बस्नेतको पहलमा प्रदर्शनकारी र नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठबीच वार्ता भएको थियो। नगर प्रमुख श्रेष्ठले नगरपालिकाले कुनै एक जाति विशेषलाई मात्र प्राथमिकता नदिएको बताए।प्रकाशित : भाद्र २२, २०७५ १९:४२

Comments